बागमती किनारमा कलाकार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ,७ चैत्र –
काठमाडौं सहरभित्र देखिने नदीनालामा कलकल गर्दै सङ्लो पानी बग्थ्यो भन्ने कुरा एकादेशको कथाजस्तै भइसकेको छ । कलाकार किरण मानन्धर आफ्नो चित्रकलाको पहिलो पाठशाला काठमाडौंकै नदीनालालाई ठान्छन् ।‘कलकल बग्ने विष्णुमती नदीको पानी र त्यसमा दियो बालेर बगाइएका दुनाको रिफ्लेक्सन मलाई चित्रकला पढाउने पहिलो विश्वविद्यालय थियो’, शनिबार दिउँसो बागमती किनारमा चित्र बनाउँदै उनले ४० वर्षअघिको काठमाडौं सम्झिए, ‘त्यही नदीको पानीमा देखिएका आकृतिका रङले मलाई चित्रकलाप्रति आकर्षित गर्‍यो । अहिले न विष्णुमती त्यसरी बग्छ न त बागमती नै ।’
किरणसहित तीन दर्जन नयाँपुराना कलाकारले शनिबार बागमती किनारमा बसेर आफ्नो सपनाको बागमतीलाई क्यानभासमा पोखे । पर्वतबाट बगेको नीलो बागमती र यसले खोजेको उज्जालोपनलाई सेतो, नीलो र पहेँलो रङको छिटाले किरण क्यानभास रंगाउँदै थिए । छेवैमा अर्का अग्रज कलाकार शान्तकुमार राई समयक्रममा बागमतीले भोगेका विभिन्न अवस्थालाई कल्पना गरेर चित्रमा उतार्दै थिए । सिर्जना देखाउँदै उनले भने, ‘पहिले कञ्चन बागमती थियो, त्यसपछि कालो भयो अहिले सबैको प्रयासले फेरि सङ्लो हुन थालेको छ ।’
 प्राज्ञ एससी सुमनले बागमतीलाई मिथिला कलामा मिसाए । मिथिलाञ्चलको ठूलो पर्व छठलाई उनले बागमतीसँग जोडेर चित्र बनाए । बागमती सफाइ अभियानको एक सय ५०औं साताको सन्दर्भ पारेर बागमतीकै किनारमा आयोजित ‘मेरो सपनाको बागमती’ शीर्षकको कार्यशालामा एरिना ताम्राकारले स्वस्थानी पर्वको अवसरमा मनाइने माधवनारायण यात्राका श्रद्धालुले बागमतीमा पूजा गरेको दृश्य क्यानभासमा उतारेकी थिइन् । कलाकार रमेश खनालले बागमतीको आधारमा उभिएको काठमाडौं सहरलाई आफ्नै अरुपण शैलीमा क्यानभासमा उतारेका थिए ।अग्रज कलाकार हरिप्रसाद शर्माको क्यानभासमा बागमती किनारमा ऋषिले तपस्या गरेको नदीमा महिलाले आराधना गरेका दृश्य बन्दै थियो । अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले आयोजना गरेको कार्यशालाको उद्घाटन पनि सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले चित्र बनाएर नै गरेकी थिइन् । बागमती सफाइ अभियन्ता पूर्व मुख्य सचिव लीलामणि पौड्यालले सामाजिक कार्य राजनीति र स्वार्थबाट मुक्त हुनुपर्ने बताए ।
कलासँगै साहित्य र अन्य सिर्जनाको माध्यमबाट बागमती सफाइसम्बन्धी अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको कार्यशाला संयोजक देवीप्रसाद घिमिरेले जानकारी दिए । विद्यार्थीदेखि अग्रज कलाकार तथा साहित्यकारको सहभागितामा सञ्चालन हुने सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए । ‘असल कामको थालनी आफैंबाट हुनुपर्छ भन्ने मान्यताले बागमती सफाइ अघि बढेको छ’, उनले भने ।कार्यशालाका सहसंयोजक तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले कला सामाजिक परिवर्तनको सशक्त माध्यम भएकाले कलाकार पनि बागमती सभ्यता बचाऊँ अभियानमा लागेको बताए । अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिका अध्यक्ष किशोर शाक्यले हरेक व्यक्तिले प्रकृति संरक्षणका लागि दिनको पाँच मिनेटमात्र सोच्न सके धर्ती, प्रकृति र बागमती सफा हुने दावी गरे ।
कार्यशालामा कलाकार हरिप्रसाद शर्मा, कृष्ण मानन्धर, किरण मानन्धर, केके कर्माचार्य, शंकरराजसिंह सुवाल, राधेश्याम मुल्मी, नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल, रमेश खनाल, सुरेन्द्र प्रधान, शान्तकुमार राई, जीवन राजोपाध्याय, हरिबहादुर खड्का, देवेन्द्र थुम्केली, एरिना ताम्राकार, महेश आचार्य, डिराम पाल्पाली, एससी सुमन, सुषमा राजभण्डारी, केशवराज खनाल, अनिता खनाल भट्टराई, ज्योतिप्रकाश बीके, नरबहादुर बीके, सुनिता राणा, हेम पौडेल, पृथ्वी श्रेष्ठ, सौरगंगा दर्शनधारी, राजु पिठाकोटे, प्रमिला बज्राचार्यलगायतका तीन दर्जन कलाकार सहभागी रहेको खबर आजको अन्नपुर्ण पोस्टमा छ |

  •  
  •  
  •  
  •  
  •  
Loading...

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *